ओखलढुंगा । गएको साउन ६ गते मंगलबार साँझ ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ को मिश्रभञ्ज्याङमा पुग्दा त्यहाँ मोबाइल नेटवर्क थिएन । मिश्रभञ्ज्याङका पसलहरुमा वरपरका गाउँबाट मोबाइल चार्ज गर्न मानिसहरु झुम्मिएका थिए ।
धन्न त्यो साँझ मिश्रभञ्ज्याङमा बत्ती आएको थियो । एकहप्ता अगाडिदेखि गएको मोबाइल नेटवर्क भने आएकै थिएन । त्यहीदिन रातिबाट बत्ती गयो । बत्ती भोलिपल्ट दिउँसोसम्म पनि आएको थिएन । तर त्यही दिउँसोबाट मोबाइल नेटवर्क भने आयो ।
यो चम्पादेवीका भित्रि गाउँका स्थानीयको सधैँको नियति हो । घोराखोरीभन्दा माथि डाँडामा राखिएको मोबाइल नेटवर्कको टावर पटक पटक चट्याङले बिगारिदिन्छ । त्यसपछि भित्रि गाउँहरुमा मोबाइल नेटवर्क टिप्दैन । यसपटक पनि त्यही भएको थियो । स्थानीय राजकुमार फुयालले चट्याङले टावरमा हानेपछि पटक पटक मोबाइल नेटवर्क उडेको बताए ।
चम्पादेवीका अधिकांश क्षेत्रमा विद्युतको अवस्था पनि उस्तै रहेको स्थानीय बताउँछन् । विद्युतीकरण भएका क्षेत्रमा पानी स्यार्रर पर्नेबित्तिकै बत्ती गायब भइहाल्छ । त्यसपछि फेरि बत्ती आउन कतिदिन कुर्नुपर्छ टुंगो हुँदैन ।
हामी कोषभञ्ज्याङबाट फेदीगुठ, साइदुवा, सिलुङहुँदै मिश्रभञ्ज्याङ जाँदा बाटैभरि विद्युतका पोल, तार, नटबोल्टलगायतका सामानहरु अलपत्र भेट्यौँ । केही ठाउँमा तारबिनाका पोलहरु ठडिएका देख्यौँ । केही ठाउँका पोलहरु ढल्न थालिसकेका थिए । कतैकतै विद्युतका पोलहरु गाड्नका लागि खाल्डो खनेर छाडेको देखियो । तर ती खाल्डो विस्तारै पुरिन थालिसकेको थियो ।

स्थानीय देवीबहादुर मिश्रका अनुसार जताततै विद्युत ठेकेदारको लापरवाही छ । उनी भन्छन्- 'कतै बत्ती बाल्न पाएका छन् तर बत्ती हुँदैन भने कतै बत्ती बाल्न पाएका छैनन् बत्ती हुने कुरा पनि भएन ।'
हामीले सो क्षेत्रका अधिकांश स्थानीयको विद्युतसम्बन्धी गुनासो सुन्यौँ । चम्पादेवी गाउँपालिका ४ को घर्तीगाउँमा घरैमा भेटिएका अणकृष्ण पौडेलले हामीलाई २२ वर्ष अघि अलपत्र परेको केन्द्रीय प्रसारण लाइनको विद्युतको पोल देखाए । ट्रान्सफर्मर राख्न जोडी गाडिएका पुराना ढुंग्रे पोल अहिले पनि स्थानीयले चिनोको रुपमा गाडिएकै अवस्थामा सुरक्षित राखेका छन् ।

त्यो बेला साँघुटारबाट केन्द्रीय प्रसारण लाइनको विद्युतीरणको लागि पोल गाडिएको थियो । तर बिजुली आएन । अहिले फरि दुई दशकपछि त्यसैगरी विद्युतीकरण विस्तारका लागि ठेक्का लगाएर गाउँभरि पोल गाडिएको छ । तर बिजुली आएको छैन ।
अणकृष्णले अघिल्लो ठेक्काजस्तै नियति अहिले पनि हुने अवस्था भएको बताए । उनका अनुसार विजुली छिटो बाल्न उक्त गाउँका स्थानीयले आफैँले विनापैसा खाल्डो खनेर पोल गाडेका थिए । तर त्यही नजिकै रहेको फेदीगुठको बजार क्षेत्रमा बत्ती बले पनि घर्ती गाउँमा बत्ती बल्न सकेको छैन । पोल उभिएको छ । तार अलि पर डाँडामा अलपत्र छ । 'यो त अति भयो, हामीलाई सधैँ माछोमाछो भ्यागुतो खेल खेलाइयो' अणकृष्णले भने ।

चम्पादेवी गाउँपालिका ७ फूलबारीको केउरीनी गाउँको सल्लेरीमा पुग्दा त्यही गाउँका स्थानीय इन्द्रबहादुर विक भेटिए । उनले गाउँमा बिजुली नआउँदा स्थानीय पेल्ट्रिकसेटबाट काम चलाइरहेको बताए । सो गाउँको पेल्ट्रिकसेट अवस्था पनि दयनीय देखियो । पेल्ट्रिक सेट बिग्रिने र कुलो भत्किने समस्या त छँदैछ । पेल्ट्रिकसेटको लाइन विस्तार पनि स्थानीयले विजोग तरिकाले गरेको पाइयो । कति ठाउँमा रुखलाइ नै खम्बा बनाइएको र कति ठाउँमा बाँसको टेको लगाइएको पाइयो । 'बिजुली आउँछ भन्दाभन्दै बाल्न पाइएन,' स्थानीय इन्द्रबहादुरले भने, 'ठेकेदार पोल गाडेर हिँडेको छ, तार झारेर हिँडेको छ, पोल गाडेको पैसा पनि दिएको छैन । बिजुली बाल्न नपाउँदा ज्यादै गुनासो छ ।'

हामीले रिपोर्टिङका क्रममा कतै पनि ठेकेदारका प्रतिनिधिहरु देखेनौँ । कतै काम भइरहेको पनि देखेनौँ । चम्पादेवीका बासिन्दाहरूले आधारभूत सेवाहरूका लागि अझै कति पर्खनुपर्ने हो भन्ने प्रश्न अनुत्तरित छ ।
