ओखलढुंगा । नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुंगाको आयोजनामा दोस्रो पालिकास्तरीय मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ५३ जना धावकहरूले सहभागिता जनाएका थिए ।
१२ किलोमिटर दूरीको उक्त दौडमा १७ जना महिला र ३६ जना पुरुष प्रतिष्पर्धी मैदानमा उत्रिएका थिए । खिजीदेम्बा गाउँपालिकाको केन्द्रबाट सुरु भई बसपार्क, चुप्लुभञ्ज्याङ, देम्बाडाँडा, भुलभुले, ताउर र पुनः चुप्लुभञ्ज्याङ हुँदै खिजीफलाटे बजारमा पुगेर म्याराथन समापन भएको थियो ।
प्रतियोगिताको पुरुषतर्फ खोटाङको दिरुमनपा १४ का श्रीकेश राईले निर्धारित दूरी १ घण्टा ५५ मिनेट २ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरे । त्यसैगरी सिन्धुपाल्चोकका राजेन्द्र तामाङ दोस्रो र खोटाङका श्रीराज राई तेस्रो हुन सफल भए ।
महिलातर्फको प्रतिस्पर्धामा २ घण्टा ३९ मिने ३५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै खिजीदेम्बा ६ की दिलमाया तामाङ प्रथम भइन् भने खिजीदेम्बा ६ की प्रिया सुनुवार दोस्रो र खिजीदेम्बा ३ की सुशीला शेर्पाले तेस्रो स्थान प्राप्त गरिन् । विजेता खेलाडीहरूलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री प्रदिप कुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुशीला तामाङ, प्रवक्ता पासाङ ङिमा शेर्पा, ५ नं वडाध्यक्ष रामकुमार सुनुवार, आयोजक संघका अध्यक्ष फुरी शेर्पालगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन र युवाहरूलाई व्यावसायिक धावक बन्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।