ओखलढुंगा । ओखलढुंगाको डिभिजन सडक कार्यालय हर्कपुरले ठेकेदार कम्पनीसँगको मिलेमतोमा गुणस्तरहीन काम गर्ने गरेको गुनासो जनस्तरबाट आउन थालेको छ । यसैको पछिल्लो उदाहरण हो- चण्डेश्वरी,फलाटे-पञ्चबुद्ध टोल हुँदै काति सडकको सोलिङ ।
यो सडकमा उक्त कार्यलयले गएको फागुनतिरै ठाउँठाउँमा गरी २ किलोमिटरजति सोलिङ गर्न ठेक्का लगाएको थियो । उक्त ठेक्का लागिसकेपछि फागुनतिरै कार्यालयले सोलिङ गर्ने साइट पनि नापेर दियो । तर ठेकेदार कम्पनी जयकृष्ण बिल्डर्सले जेठतिरबाट मात्रै काम थाल्यो ।
काम नसकिने भएपछि ठेकेदार कम्पनीले जस्तो पायो त्यस्तै काम गरेको गुनासो जनस्तरबाट अहिले व्यापक उठन थालेको छ । १ करोड ठेक्काको काम ६५ लाखमा लिएको ठेकेदार कम्पनीले क्वान्टिटी पुर्याउन गुणस्तरहीन काम गरेको स्थानीयहरु बताउँछन् ।
यसै विषयमा जयकृष्ण बिल्डर्सका प्रतिनिधि बताउने सागर सुवेदीले कार्यालयले दिएको नर्म्सअनुसारै २० सीएम उचाइको ढुंगा र ४ मिटर चौडाइ सोलिङ छाप्ने काम भएको दाबी गर्छन् । उनले साइटको सोलिङ गर्ने काम नदिँदा रिसइबिमा स्थानीयहरु उत्रिएको आरोप लगाए ।
तर साइटमा गरिएको सोलिङमा लेबल नमिलाएको र ढुंगाबीच ग्यापैग्याप रहेको रहेको स्थानीयहरु बताउँछन् । 'काम भनेको दीगो हुनुपर्छ, एकवर्षमै उप्किने खालको काम नहोस् भन्ने हो,' एक स्थानीयले भने, 'हामीले विकासको विरोध गरेका हैनौँ, काम गुणस्तरीय हुनुपर्छ भनेका हौँ ।'
सो ठेक्का अन्तर्गतको चण्डेश्वरी, खिजीफलाटे, पञ्चबुद्धटोल, खिजीकाति सबैजसो सडकमा काम राम्रो नभएको स्थानीयको गुनासो छ । डिभिजन सडक कार्यालयले सोही ठेक्का अन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन जाने शाखा सडकमा समेत सोलिङ गरेको थियो । उक्त सोलिङ गुणस्तरहीन भएको व्यापाक गुनासोपछि पुन: भत्काएर सुधारिएको समेत थियो । शो शाखा सडकमा कार्यालयले स्टीमेट बाहिर गएर सोलिङ गरेको खुलेको छ ।
ठेकेदार कम्पनीले सोलिङमाथि ग्याप पुर्न रोडा समेत बिछ्याएको छ । विज्ञ प्राविधिकहरुका अनुसार सोलिङमाथि यसरी रोडा प्रयोग गर्नु राम्रो होइन । सोलिङको ढुंगा खाप्दा ग्याप पुरिएको हुनुपर्छ । यो विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि बताउने सुवेदीले 'सोलिङमाथि रोडा हाल्न पाइँदैन हो ?' भन्दै प्रतिप्रश्न गरे ।
स्थानीयहरुले एउटै प्रकृतिको सोलिङ खिजीदेम्बा गाउँपालिका र डिभिजन सडक कार्यालय हर्कपुरको फरक फरक हुने गरेको बताएका छन् । डिभिजन सडककले क्वान्टिटीका नाममा क्वालिटी नदिएको स्थानीयो गुनासो छ ।
यस विषयमा डिभिजन सडक कार्यालय हर्कपुरका डिभिजन प्रमुख सविन जोशीले सोलिङको गुणस्तर राम्रै रहेको तर्क गरे । 'हाम्रो प्राविधिकले हेरेरै काम गराएको हो, सोलिङ राम्रै छ,' जोशीले भने, 'सोलिङ गरेपछि बिग्रिएको भत्किएको छ भने गुणस्तरहीन भन्न मिल्यो । त्यो त छैन नि ।'