ओखलढुंगा । ओखलढुंगा सदरमुकामको रमाइलोडाँडमा करोडौँको लगानीमा करिब डेढ दशक लगाएर निर्माण गरिएको व्यवस्थित बसपार्क अहिले 'सेतो हात्ती' सरह बनेको छ । ३ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जिल्ला सदरमुकामको एक मात्र बसपार्क अहिले प्रयोगविहीन छ ।
नगरपालिकाले रिबन काटेर उद्घाटन गरेको बसपार्कमा न अहिले नगरका कर्मचारी भेटिन्छन्, न नगरप्रहरी नै देखिन्छन् । ट्राफिक प्रहरी समेत यो बसपार्कमा पुग्दैनन । १५ वर्ष लगाएर बनाइएको बसपार्कको ग्राउण्ड, यात्रु प्रतीक्षालय, टिकट काउन्टर र सीसीटीभी क्यामेरा जस्ता आधुनिक पूर्वाधारमा अहिले माकुरोको जालो लागेको छ । सार्वजनिक प्रयोजनका लागि बनाइएको यो स्थल अहिले निजी ग्यारेज र ट्रायल सेन्टरमा परिणत भएको स्थानीय चिनीमाया गिरीले बताउनुभयो ।
यो बसपार्क तीनवर्ष अगाडि उद्घाटन भएपछि केही समय सञ्चालनमा पनि आएको थियो । बसपार्क सञ्चालनमा आउँदा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले यातायात व्यवसायीबाट कर समेत उठाउन कर्मचारी पठाउने गरेका थिए । अहिले वर्षौ बितिसक्दा समेत बसपार्क सञ्चालनमा छैन । मेयर तेजनको असक्षमताले बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
बसपार्क सञ्चालनका लागि नगरपालिकाका कार्यपालिका सदस्यहरुले पटक पटक आवाज उठाउँदा पनि मेयरले सुनुवाइ नगरेको उनीहरुकै गुनासो छ । 'हामीले पनि भनेको त्यही हो- बसपार्क सञ्चालनमा आउनुपर्छ,' एक कार्यपालिका सदस्यले भने, 'सञ्चालन पनि गर्न नखोज्ने, समन्वय पनि गर्न नखोज्ने प्रवृत्ति छ ।'
रमाइलोडाँडाबाट १ मिनेटको दुरिमा रहेको बसपार्क सञ्चालनमा नआउनु लज्जाको विषय हो । यहाँका स्थानीयले बसपार्क सञ्चालन नगर्ने हो भने करोडौँ रकम किन खर्च गरियो भनेर प्रश्न गर्दै आएका छन् ।