ओखलढुंगा । ओखलढुंगा सदरमुकामदेखि केही मिनेटको दूरीमा रहेको सिद्धिचरण नगरपालिका–१२ को भँडारे गाउँका तीन अभिभावकविहीन बालबालिका भोकभोकै बाँच्न बाध्य छन् । आफ्ना बाबु बितेपछि आमा पनि दोस्रो बिहे गरेर हिँडेपछि ती बालबालिका हजुरबुवाको संरक्षणमा हजुरबुवा बस्ने घरमै बस्दै आएका थिए । अहिले हजुरबुवाले पनि उनीहरुलाई संरक्षण गरेनन् ।
स्वर्गीय सन्तोष गुरुङका १४ वर्षीया छोरी, ९ र ७ वर्षीय छोरा एकसातादेखि सन्तोषकै स्वामित्वमा रहेको घरमा फर्किएका छन् । तर उक्त घरमा न भाडाकुँडा, न खाद्यान्न, न ओढ्ने ओछ्याउने नै छ । उनीहरू भोकभोकै बस्न बाध्य छन् ।
'हामीसँग न पकाउने भाँडा छ, न चामल न नुन नै छ, केही पनि छैन,' स्वर्गीय सन्तोष गुरुङकी १५ वर्षीया छोरीले भनिन्, 'कहिलेकाहीँ छिमेकी आन्टीले खुवाउनुहुन्छ, धेरैजसो चाउचाउ खाइरहेका छौँ ।'
छिमेकीले कहिलेकाहीँ खाना दिएर ज्यान जोगाइरहेका ती बालबालिका अहिले स्थानीय तहको स्थायी संरक्षणका लागि पर्खिरहेका छन् । हामीले ती बालबालिकाको अवस्था थाहा पाएलगत्तै सिद्धिचरण नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृतलाई केही दिन अगाडि नै फोनमार्फत् जानकारी गराएका थियौँ । तर त्यहाँ नगरपालिकाको उपस्थिति देखेनौँ ।
त्यसपछि हामीले शनिवार साँझ स्थानीय वडाध्यक्ष उमंग श्रेष्ठलाई ती बालबालिकाको अवस्थाबारे जानकारी गरायौँ । वडाध्यक्ष श्रेष्ठले ती बालबालिकालाई सहयोगका लागि खाद्यान्न र अत्यावश्यक सामग्री वडामार्फत् पठाउने तयारी गरिरहेका छन् । उनले वडामार्फत भने ती बालबालिकाको संरक्षणमा चासो देखाएका छन् ।
ओखलढुंगाखबरबाट तत्कालका लागि खाने केही खाद्यसामग्री आज विहान हस्तान्तरण भएको छ । तर त्यो पर्याप्त छैन ।
बालबालिकाको अवस्था दयनीय हुँदा पनि तत्काल सिद्धिचरण नगरपालिकाले सुनुवाइ नगरेकोमा स्थानीय छिमेकीहरु आक्रोशित भएका छन् ।