ओखलढुंगा । एक महिनाअघि ओखलढुंगाको एउटा गाउँमा हामी पुग्दा झिक्रिक्क परेको बुद्धचित्तको बोटको सुरक्षाका लागि २ जना युवा तैनाथ थिए । ती युवा सोही घरकै वा स्थानीय कोही पनि होइनन् । चिनेजानेका आफन्त पनि होइनन् । ती त हुन् टिप्नेबेलाको बुद्धचित्तको सुरक्षाका लागि बसेका गार्ड ।
बुद्धचित्त टिप्नुअघि नै किसानसँग व्यापारीको मोलमोलाइ सुरू हुन्छ । बुद्धचित्तको गुणस्तरीय फल्ने बोटको दाना लाखौँ मूल्यमा बिक्री हुन्छ । त्यसपछि सुरु हुन्छ सुरक्षा चिन्ता ।
त्यहाँ त्यही भइरहेको थियो । फलेको बुद्धचित्तको सुरक्षाका लागि तारजाली लगाइएको थियो । त्यतिले पनि नपुगेर २ जना गार्ड नै राखिएको हो । हामीले सो ठाउँको फोटो भिडियो खिच्ने अनुमति पाएनौँ । 'बुद्धचित्त रुँग्न सिन्धुपाल्चोकतिरबाट आएका गार्ड हुन्, समाचार चै' नलेख्नु नि,' घरवाला ती किसानले कानमा साउती मार्दै भने, 'अरु धेरै कुरा भन्नु हुन्न ।'
उनले यसवर्ष लाखौँमा बुद्धचित्तको दाना अग्रीम बिक्री भएको संकेत गरे ।
माथिको प्रसंगका किसानजस्तै अरु किसानले यसवर्ष पनि बुद्धचित्तबाट लाखौँ आम्दानी गरेका छन् । बुद्धचित्त बिक्री गर्न पनि समस्या छैन । ठेकेदारहरु सिजन सुरु हुनु अगाडि नै नगद बोकेर बैना मार्न किसानको बारीमै पुग्ने गरेका छन् । 'यसवर्ष पनि दर्जनौँ ठेकेदारहरु बुद्धचित्त किन्न गाउँगाउँ आएका थिए,' बुद्धचित्त लगाएका एकजना जनप्रतिनिधिले हामीसँग भने 'ओखलढुंगाका किसानले पनि बुद्धचित्तबाट राम्रो आम्दानी गर्न थालिसके ।'
जिल्ला समन्वय समिति ओखलढुंगाको प्रांगणमा भएको बुद्धचित्तले यसवर्ष ५० हजार रुपैयाँ आम्दानी गर्यो । जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले दिएको जानकारी अनुसार ४० हजारको राजश्व समन्वय समितिले काटेको छ । अन्य १० हजार उक्त बुद्धचित्त बिक्रीका लागि सूचना प्रकाशनलगायत अन्य कुरामा खर्च भएको छ ।
जिल्लाका प्राय: सबै भेगमा फलेको बुद्धचित्त साउन अन्तिमसम्म बिक्री गरिसकिएको छ । तर कसले कति मूल्यमा बिक्री गर्यो भन्ने विषयमा किसानहरु सुरक्षाका कारण खुलेर कुरा गर्न चाहँदैनन् । डिभिजन वन कार्यालय ओखलढुंगामा पनि बुद्धचित्तको कारोबारको तथ्यांक छैन ।
बुद्धचित्त लगाएका सबै किसानले भने राम्रो मूल्य पाउँदैनन् । बुद्धचित्त लगाएकामध्ये गुणस्तरीय दाना फल्ने बोटले मात्रै मूल्य पाउने किसानहरुको भनाई छ । कुन बोटमा कस्तो फल्यो भन्ने विषय खरिदकर्ता ठेकेदारबाट थाहा पाइने उनीहरु बताउँछन् ।
बुद्धचित्तबाट लोभलाग्दो आम्दानी हुने देखेपछि ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले 'एक घर एक बुद्धचित्त' अभियान नै थाल्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमै सो अभियान समेटिएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । 'बुद्धचित्त राम्रोसँग हुर्कियो र विरुवा राम्रो पर्यो भने उक्त विरुवा हुर्किएपछि गाउँपालिकाका बासिन्दाले राम्रो आम्दानी लिन सक्ने भए,' अध्यक्ष केसीले भने, 'अहिले पनि हाम्रा केही किसानले बोटकै ४ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्, गाउँपालिकाको अभियानपछि आम्दानीको राम्रो स्रोत हुनसक्छ ।'
एकघर एक बुद्धचित्त अभियान चलाउँदा आयस्रोत बढ्ने र किसानलाई करको दायरामा ल्याउन सकिने अध्यक्ष केसीको भनाई छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ ११:४०