ओखलढुंगा । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी बनेको भन्दै ओखलढुंगाका निर्माण व्यवसायीहरूले जिल्लाको निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिएका छन् । ओखलढुंगा निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।
संघका अध्यक्ष विनोद कुमार ताम्राकारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, बिटुमिन लगायतका अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा भएको भारी वृद्धिका कारण पुरानै दररेटमा काम गर्न नसकिने उल्लेख गरिएको छ । मध्यपूर्वको युद्धअघि प्रति लिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य २२५ पुगेको र ७५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य १५५ रुपैयाँ पुग्दा निर्माण व्यवसायीहरूलाई अर्बौँको नोक्सानी भइसकेको संघको ठहर छ ।
नेपाल निर्माण व्यवसायी महासंघले दिएको अल्टिमेटमलाई सरकारले बेवास्ता गरेको भन्दै ओखलढुंगाका व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् । छिमेकी मुलुक भारतमा समेत मूल्य समायोजनको व्यवस्था गरिएको अवस्थामा नेपालमा भने सरकारका उच्च अधिकारीहरूबाट ठोस निर्णय नआउँदा सप्लाई चेन नै अवरुद्ध भएको उनीहरूको दाबी छ ।
ज्ञापनपत्रमा भनिएको छ, "जति काम गर्योि त्यति नै घाटा हुने स्थितिमा अब व्यवसायीहरू कुनै पनि निर्माण कार्यमा सहभागी हुन सक्ने अवस्था छैन । सरकारले समयमै मूल्य समायोजनको निर्णय नगरेका कारण निर्माण कार्य ठप्प हुँदा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ ।"
यस्तो विषम परिस्थितिमा व्यवसायीहरू चरम आर्थिक र मानसिक दबाबमा रहेको उल्लेख गर्दै संघले तत्काल बैंक ग्यारेन्टी जफत गर्ने वा कालो सूचीमा राख्ने जस्ता कार्य नगर्न समेत आग्रह गरेको छ। साथै, आयोजनाहरूको म्याद थप, इन्सुरेन्स व्यवस्थापन र थप बजेटको सुनिश्चितताका लागि ओखलढुंगा निर्माण व्यवसायी संघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।