ओखलढुंगा । ओखलढुंगामा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरोकारवालाहरूसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम गरेको छ ।
राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख, जिल्लास्थित पत्रकारलगायतसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम गरेको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले निर्वाचन आचारसंहिताको विस्तृत जानकारी दिँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।
आचारसंहिताका प्रमुख प्रावधानहरूबारे बोल्दै उहाँले भ्रामक सूचना, मिथ्या समाचार तथा जाति, धर्म, लिङ्ग वा अपाङ्गता जस्ता आधारमा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नहुने तथा विशेष गरी फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब जस्ता सामाजिक सञ्जालमा दुष्प्रचार भएमा जिल्ला अनुगमन समितिले कारबाही गर्ने विषयमा पनि जानकारी दिनुभएको थियो । अन्तर्क्रिया कार्यक्रममा आचारसंहिता, निर्वाचन तालिका र भोलि हुने मनोनयन दर्तालगायतको विषयमा छलफल भएको थियो ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले इजाजत प्राप्त हातहतियारहरु प्रशासन वा सुरक्षा निकायमा बुझाउन अपिल गरिसकिएको जानकारी दिनुभयो । त्यस्तै उहाँले निर्वाचनसम्बन्धी कुनै कार्यक्रम गर्दा प्रशासनको अनुमति लिएर मात्रै गर्न जिल्लास्थित राजनीतिक दलहरुलाई अनुरोध गर्नुभएको थियो ।