ओखलढुंगा । कोरोना भाइरसको महामारीबाट प्रभावित किसानहरुलाई मध्यनजर गरेर ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले भू उपयोगी उत्पादन राहत कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिको यो कार्यक्रम सञ्चालन गर्नका लागि १ करोड रुपैयाँ राहत व्यवस्था गरेको छ ।
गाउँपालिकाकोे आकस्मिक बैठकले कोरोना भाइरको महामारीका कारण भयावह अवस्था सिर्जना हुने अवस्था आएको भन्दै गाउँपालिकाभित्रका प्रभावित किसानलाई एक करोड रुपैयाँको राहत व्यवस्था गरेको हो । गाउँपालिका क्षेत्रमा रहेका वर्षौँदेखिका निष्क्रिय जमिनलाई खनजोत गरेर बाली लगाउन, बाली प्रबद्र्धन गर्न, किसानहरुलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन गाउँपालिकाले भू उपयोगी उत्पादन राहत कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।
गाउँपालिकाले किसानलाई बेरोजगारी, भोकमरीलगायतका समस्याबाट बचाउन रोजगारी, विउ विजन, राशायनिक मल, कीटनाशक विषादि, प्राविधिक सेवालगायतको राहत दिने भएको छ । अघिल्ला वर्षहरुमा पनि खडेरीका कारण बाली उत्पादन नभएर यो गाउँपालिकाको वडा नं १, २ र ३ वडाका किसान समस्यामा परेका थिए । अहिले गाउँपालिकाले किसानहरुलाई पकेट क्षेत्र बनाएर राहत योजना अगाडि बढाउने भएको हो । राहत कार्यक्रमले कोरोना भाइरको महामारीका कारण समस्यामा परेका प्रभावित किसानलाई राहत दिने अध्यक्ष केसीको दाबी छ ।
चम्पादेवी गाउँपालिकाले यसअघि नै लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत दैनिक ज्यालामजदूरी गरेर जीवन निर्वाह गर्ने काठमाडौंमा रहेका आफ्नो गाउँपालिकाका ३ सय ३७ परिवारलाई खाद्यान्न राहत वितरण गरिसकेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका असंगठित क्षेत्रमा कार्यरत मजदूर, विपन्न, एकल, असहाय, पिछडिएका वर्ग तथा दलितलगायत १ हजार ४ सय परिवारलाई खाद्यान्न सामग्री राहत दिने तयारी समेत थालेको छ ।