ओखलढुंगा । कोदो रोप्दा गाइने पर्मेली गीतले कुनैबेला ओखलढुंगाको रूम्जाटार घन्किथ्यो । गीत गाउँदै साउने झरीमा अर्मपर्म गर्दै काम गर्नुको मजै बेग्लै थियो ।
एकदशक अघिसम्म रूम्जाटारमा कोदो रोप्दा गाइने पर्मेली गीत र पर्म लगाउने परम्परा हिजोआज भने हराउँदै जान थालेको छ । आधुनिक गीत संगीतले बजार पिट्न थालेपछि कोदो रोप्दै गीत गाउने परम्परा लोप हुँदै जान थालेको हो । समय परिवर्तनसँगै रूम्जाटारको बस्ती रित्तिँदै गएपछि माइती र चेलीको सम्बन्ध जोड्दै आएको दुई सय वर्षभन्दा पुरानो पर्म लगाउने परम्परा हराउँदै गएको हो ।
ओखलढुंगा सदरमुकामबाट ११ किमि पूर्वमा पर्ने रूम्जाटार गुरूङ समुदाय बाहुल्य क्षेत्र हो । सम्म टारको रूपमा रहेको रूम्जाटार जिल्लाकै कोदो उत्पादनमा गनिएको क्षेत्र हो । यहाँ कुनैबेला कोदो रोप्दाको रमाइलो नै बेग्लै हुन्थ्यो । कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हूलले साउन महिनामा रूम्जाटारका सम्म चउर ढाकेको हुन्थ्यो । बाँसुरी, मादल, बच्छेबाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा कुनै ठूलै चाँडको झल्को आउँथ्यो ।
तर साउन महिनाको पहिलो सातादेखि नै रूम्जाटारमा कोदो रोपाइँ सुरू भएपनि आजभोलि पर्मेली हूल देखिन छाडेका छन् । “पहिला बाजागाजासहित पर्मेली गीत गाउँदै तामझाम गर्दै कोदो रोपाइँ गर्ने चलन थियो,” सिद्धिचरण नगरपालिका–४, रूम्जाटारकी स्थानीय लक्ष्मी गुरूङले भनिन्, “साउनको पहिलो सातादेखि नै कोदो रोपाइँ सुरू भएपनि अहिले पहिलाजस्तो पर्मेली हूल छैनन् ।”
माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने रूम्जाटारको मौलिक विशेषता हो । चेलीले कोशेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीको समेत रोपाइँ सकेपछि अन्त्यमा हुक्काइ (भोज) खाएर कोदो रोपाइँ समापन गर्ने चलन यहाँको पुरानो परम्पराको रूपमा मानिन्छ । तर, अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत संगीतले नयाँ पुस्तालाई ध्यान खिच्न थालेपछि त्यसको असर पर्मेली गीतमा परेको छ । पर्मेली गीत गाएर कोदो रोप्ने चलनलाई विस्थापित गर्दै अहिले मोबाइलमा गीत बजाएर कोदो रोप्न थालिएको स्थानीयहरू बताउँछन् ।
रूम्जाटारका स्थानीय रोजीरोेटीका लागि बाह्य क्षेत्रमा जाने क्रम बढेसँग पर्म लगाउने परम्परा प्रभावित भएको हो । रूम्जाटारका स्थानीय परिवारसहित शहर तथा सुविधासम्पन्न क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दो छ । कुनै बेलाको मुख्य चहलपहल हुने रूम्जाटारका घरहरू अहिले रित्तिँदै गएका छन् । रित्तिएका घरहरू रूग्न र जग्गा कमाउनका लागि आसपासका क्षेत्रबाट रूम्जाटार आउनेकोे क्रम बढी छ । बाहिरबाट आएकाहरूलाई पर्मेली परम्पराप्रति चासो कम छ ।
रूम्जाटारमा अहिले पहिलाको तुलनामा पर्मेली परम्परा हराउन थालिसकेको सिद्धिचरण नगरपालिका–४, रूम्जाटारकी स्थानीय पदमकुमारी गुरूङले बताइन् । “गाउँभरिका माइती चेली जुटेर एकैदिन मेलो सल्टाउँदा खुब रमाइलो हुन्थ्यो,” उनले भनिन्, “तर अहिले त्यस्तो छैन । कतैकतै मात्रै अर्मपर्म चलिरहेको छ । अब त यो परम्परा नै मासिने पो हो कि भन्ने चिन्ता छ ।”
पर्मेली परम्परा हराउँदै गएपछि रूम्जाटारमा पर्मेली गीत गाउनेको अभाव हुन थालेको छ । उमेर ढल्केकाहरूले मात्रै पर्मेली गीत भाका हालेर गाउन सक्छन् । उनीहरू मेलापातमा पुगेर भाका हाल्न सक्दैनन् । नयाँ पुस्ताले पर्मेली गीत बिर्सिसके । रूम्जाटारकै पहिचान बोकेको पर्मेली गीत र पर्म लगाउने परम्परा हराउन थालेकोप्रति रूम्जाटारका बुढापाकाहरू चिन्तित छन् ।