ओखलढुंगा । शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले शैक्षिक सुधार अभियान थालेको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिको अन्त्य गरेर शैक्षिक सुधार अभियान थालेको हो ।
नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा दरबन्दी मिलान, सबै पिरियडमा पढाइ हुने व्यवस्था, ईहाजिरीको व्यवस्था, सीसीटीभीको व्यवस्था, अनुगमनलाई कडाई, प्रधानाध्यापक मूल्यांकन डायरीको व्यवस्था, तालिमलगायतका विषयलाई प्राथमिकता दिएर काम थालेको नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले बताउनुभयो ।

नतिजामुखी शैक्षिक सुधारका लागि अभियानकै रुपमा काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालको भनाई छ ।
शैक्षिक सुधार अभियानकै लागि नगरपालिकाले नगर क्षेत्रभित्रका प्रधानाध्यापकहरुसँग अभिमुखीकरण तथा छलफल समेत आयोजना गरेको छ । उक्त छलफलमा नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले नगरको शैक्षिक अवस्था सुधारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उक्त छलफलबाट विभिन्न २० बुँदामा निर्णय भएको छ ।