ओखलढुंगा । ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारमा कुपोषित बालबालिकाको संख्या घटाउने उद्देश्यले सञ्चालित पोषण पुनर्स्थापना गृह प्रभावकारी बन्दै गएको छ । २ वर्षअघि सञ्चालनमा आएको उक्त गृहमा हालसम्म कुपोषणको सिकार भएका १ सय ६१ बालबालिका र उनीहरुलाई रेखदेख गर्ने अभिभावकले नि:शुल्क सेवा लिएका छन् ।
कुपोषणका कारण उपचार गर्नुपर्ने अवस्थामा पुगेका ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई छनोट गरी अभिभावकसँगै ल्याएर पोषण पुनर्स्थापना गृहमा राख्ने गरिएको छ । उक्त गृहमा आवासीय सुविधा दिएर पोषणयुक्त खानेकुरा खुवाउँदै बालबालिकाको उपचार गरेर निको भएपछि मात्रै घर पठाउने गरिएको छ ।
गृहमा आर्थिक वर्ष २०७७/०७८ मा ३६ जना, आर्थिक वर्ष २०७८/७९ मा ७४ जना र आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ५१ जनाले सेवा लिएको पोषण पुनर्स्थापना गृह व्यवस्थापक साजना श्रेष्ठले बताउनुभयो । पोषण पुनर्स्थापना गृहमा दैनिकरुपमा स्वास्थ्य जाँच, पोषण शिक्षा, पोषिलो खानेकुरा बनाउने तालिमलगायतका सेवा दिइँदै आएको छ ।