ओखलढुंगा । ओखलढुंगालाई खेलको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले साइक्लिङ खेल प्रतियोगिता हुने भएको छ । जिल्ला साइक्लिङ संघको आयोजनामा जिल्ला सदरमुकाम भित्रको साढे ३ किलोमिटर क्षेत्रमा खेल प्रतियोगिता हुने भएको हो ।
आउँदो माघ २० र २१ गते आयोजना हुने साइक्लिङ खेल प्रतियोगिताका लागि सिद्धिचरण नगरपालिकाले प्रायोजन र नेपाल टुरिजम बोर्डले प्रबर्द्धनको जिम्मा लिएको छ । साहसिक खेल अन्तर्गत पर्ने साइक्लिङ प्रतियोगतामा १४ वर्षदेखि ६० वर्ष उमेर समूहका ५० जना राष्ट्रियस्तरका साइक्लिङ राइडर सहभागी गराउने योजना बनाइएको आयोजक संस्थाका अध्यक्ष रामरत्न शाक्यले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा ३५ हजारदेखि १५ हजार रूपैयाँसम्मको पुरस्कार राशिको व्यवस्था गरिएको छ ।