ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीमा रहेको जलदेवी समाजसेवी युवा क्लब २५औँ वर्ष पुगेको अवसरमा विभिन्न विधाका खेलकुद प्रतियोगिता सुरु भएको छ । पर्यटन प्रबर्द्धन गर्ने हेतुले रजत जयन्तीको अवसरमा खेलकुद प्रतियोगिता सुरु भएको हो ।
आज एक कार्यक्रमकाबीच सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले ४ दिनसम्म चल्ने भलिबल खेलको उद्घाटन गर्नुभयो । सो अवसरमा खनालले जन्तरखानी टेलिफोन डायरी-२०७९ को विमोचन र क्लवका आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।
रजत जयन्तीको अवसरमा यही २७ गते २ हजार ९ सय मिटर उचाइमा रहेको ठाडे, जन्तरधाप र जन्तरखानी क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि टेन के जन्तरधाप म्याराथन प्रतियोगिता हुने भएको छ । सगरमाथालगायतका दर्जनौँ हिमश्रृङ्खला देखिने उक्त क्षेत्रमा आयोजना हुने म्याराथन १० किलोमिर लामो रहेको छ । म्याराथनमा १८ वर्षदेखि ६० बर्ष उमेर समूहका धावकहरुले सहभागी हुन पाउने प्रतियोगिताका संयोजक दिनेश मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ७ हजार र सान्त्वना हुनेलाई ५ हजार र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितासँगै ओम समाज डेण्टल हस्पिटलको आयोजनामा नि:शुल्क दन्त शिविर र सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ ।