ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । लकडाउनको समयमा मानेभञ्ज्याङ गाउँपालिकाको दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार र दर्शकदीर्घा निर्माण भएको छ । संघीय सांसद यज्ञराज सुनुवारको संसद क्षेत्र विकास कोष अन्तर्गत मैदान र दर्शकदीर्घा निर्माण भएको हो ।
सांसद सुनुवारले उक्त मैदानका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार राईको अग्रसरतामा पहिलो किस्ताको रकम निकासा गरेर काम थाल्दै गर्दा कोरोनाको विश्वव्यापी सङ्क्रमणले सबैलाई आतङ्कित पारी अन्यौलग्रस्त परिस्थिति सिर्जना भएको थियो । तर, त्यस्तो परिस्थितिमा समेत खेल र विकासप्रेमी पौरखी स्थानीय युवाहरू काममा जुटेका थिए ।
'लकडाउन सुरु भएको केही दिनपछि गाउँपालिकाका पदाधिकारीहरू समेत आएर काम स्थगित गर्न लगाएका थिए,' नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षमान राईले भने, 'तर सिमेन्ट लगायतका निर्माण समग्री बिग्रन सक्ने भएकोले केही दिन रोकिएर फेरि काम थालियो । त्यसैले अहिले गोल्डकप मैदानको रूप फेरिएको छ ।'
युवा वर्गलाई सम्बोधन गर्ने कार्यक्रम भएकोले निर्माण अभियान सफल बनाउन युवाहरू उत्साहपूर्वक श्रमदानमा जुटेका थिए । जसका कारण लक्ष्यभन्दा बढी कार्य सम्पन्न भएको अध्यक्ष राईको दावी छ ।
यो मैदानमा स्थानीय युवाहरूले फुटबल खेल्न र सिक्नका साथै वि.सं. २०६८ सालदेखि बर्षेनी राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको सम्मानमा व्याकुल माइला गोल्डकपको आयोजना गरिँदै आएको छ ।