फिक्कल । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप खुला पुरुष तथा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फिक्कल गाउँपालिका ५ को डाँडागाउँ खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा पुरुष र महिलातर्फका खेलहरु सम्पन्न भएका हुन् ।
आज भएको पुरुषतर्फको फाइनल खेल निकै रोमाञ्चक रह्यो । जहाँ जसेथान युवा क्लब ले गोल्डेन रिभर युथ क्लबलाई ० का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो । जितसँगै जसेथान युवा क्लबले नगद रु. एक लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
पुरुषतर्फ दोस्रो स्थान हासिल गर्ने गोल्डेन रिभर युवा क्लब ले रु. ५० हजार नगद राशि तथा ट्रफी प्राप्त गर्यो । टसका आधारमा घुर्मी युवा क्लब तृतीय स्थानमा रह्यो, भने अमरज्योत युवा क्लब, गोलन्जोर-६ लाई सान्त्वना पुरस्कार प्रदान गरियो । जसको राशि २५ हजार र १० हजार रूपैयाँ रहेको थियो । व्यक्तिगत विधातर्फ पुरुषतर्फ जसेथान युवा क्लबका मानस राई उत्कृष्ट खेलाडी, जसेथानकै जोन श्रेष्ठ सर्वाधिक गोलकर्ता र गोल्डेन रिभरका अमर श्रेष्ठ उत्कृष्ट गोल रक्षक घोषित भए ।
महिलातर्फको खेल पनि आज नै सम्पन्न भएको थियो । जसमा गैरी महिला टीमले प्रथम स्थान हासिल गर्दै नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । द्वितीय स्थानमा गोल्डेन रिभर क्लब रह्यो । गोल्डेन रिभरले नगद रू. १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्योल । सेमिफाइनलिष्ट गेरुडाँडा ए र बी दुई टीमले नगद रु ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
महिला फुटबलमा व्यक्तिगत विधातर्फ सिर्जना राई सर्वाधिक गोलकर्ता घोषित भइन् । संजिता राई उथ्कृष्ट खेलाडी र सुजिता राई उत्कृष्ट गोलरक्षक भए ।
पुरस्कार तथा शिल्ड, मेडल र प्रमाणपत्र फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल तथा प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहपछि प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितका संयोजक शिव बरालले कार्यक्रम समापन भएको घोषणा गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, स्वयंसेवक, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ तेस्रो अध्यक्ष कपको समापन भएको जानकारी गराउनुभएको थियो ।
असोज ३० देखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको प्रतियोगिता सौहार्दपूर्ण ढंगबाट सम्पन्न भएको फिक्कल गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष कुलेन्द्रबहादुर मगरले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०८२ २२:२५