ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । वीपी स्मृति भवन निर्माणार्थ ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार परिवारद्वारा एकमुष्ट २ लाख ७९ हजार ६ सय ६६ रूपैयाँ सहयोग भएको छ । सभापति सुनुवारले आज आफ्नो तर्फबाट २ लाख ५१ हजार १ सय ११ रुपैयाँ भवन निर्माण समितिलाई हस्तान्तरण गरेका छन् ।
उनका जेठा छोरा अनुप सुनुवारले २५ हजार ५ सय ५५ रुपैयाँ र सभापति सुनुवार पत्नी प्रमिलादेवी सुनुवारले ३ हजार रुपैयाँ यसअघि नै सहयोग गरिसकेका थिए । सभापति सुनुवार नेतृत्वमा निर्माण भइरहेको भवन सम्पन्न हुने चरणमा छ । यद्यपि भवन निर्माणका लागि नेता कार्यकर्ता तथा शुभेच्छुकहरुबाट सहयोग संकलन जारी छ ।
भवन सिद्धिचरण नगरपालिका ११ रामबजारमा निर्माण भइरहेको छ । अघिल्लो मंसिरदेखि सुरु भएको साढे तीन तले भवनको अहिले रङरोगनको काम भइरहेको छ । १ करोड ७ लाखको लागत अनुमान गरिएको उक्त भवनका लागि आर्थिक संकलन र निर्माण कार्य एकैसाथ अगाडि बढाइएकाले भवन निर्माण सम्भव हुने अवस्थामा पुगेको सभापति सुनुवारले बताए ।
'पार्टीको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने मेरो सपना थियो,' सभापति सुनुवारले भने, 'मेरै कार्यकालमा साकार हुने अवस्था छ ।' उनले भवन निर्माणका लागि आफूले कबुल गरेको रकम सहयोग गरेको बताए । सभापति सुनुवारले ऐतिहासिक भवन निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
भवन जतिसक्दो चाँडो फागुनभित्रै सम्पन्न गरेर उद्घाटन गर्ने तयारी भइरहेको ओखलढुंगा कांग्रेसले जनाएको छ ।
