ओखलढुंगा, १७ जेठ । यहाँस्थित सिद्धीचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा मेयर श्रेष्ठले यस्तो बताएका हुन ।
स्थानीय तह र पत्रकारवीचको सम्वन्ध नङ र मासुको जस्तो हुनु पर्नेमा जोड दिँदै मेयर श्रेष्ठले भने ‘हामी जनप्रतिनिधीको रुपमा सेवारत छौं, पत्रकारहरु सञ्चारमार्फत सेवामा छन् । सबैको लक्ष्य, उद्देश्य भनेको जनताको हितका लागि काम गर्ने हो । तसर्थ, हाम्रो सम्वन्ध प्रगढ हुनुपर्छ ।’ मेयर श्रेष्ठले अघि भने ‘व्यवसायिक पत्रकारिताको क्षेत्रमा ओखलढुंगाका केही पत्रकार साथीहरु कतै न कतै चुकेको हो की भन्ने भान बेलाबेलामा हुने गरेको छ । हामी निष्पक्ष पत्रकारितामा जोड दिऔं । यसबाटै सबैको हित हुनेछ ।’
पत्रकार महासंघको भवन निर्माणको बाँकी कार्य र पत्रकार सहायता कोषलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताउँदै छलफलका क्रममा मेयर श्रेष्ठले भने ‘हामीले हरेक बर्ष पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशिलहरुका लागि केही न केही गर्ने भन्ने थियो तथापी त्यसलाई निरन्तरता दिन सकेका थिएनौं । भविष्यमा पत्रकारिता क्षेत्रको विकासको लागि हामी सकारात्मक रुपमा अघि बढ्छौं ।’
नगरपालिकाले पत्रकारिता क्षेत्रमा लागेकाहरुको हितका लागि विभिन्न नयाँ कार्यक्रम ल्याएपनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको स्वीकार्दै मेयर श्रेष्ठले भने ‘पहिलो बर्ष हामीले १० जनाप त्रकारलाई नगदसहित सम्मान गर्ने कार्यक्रम राखेका थियौं । हामीले त्यो कार्यक्रमले जिल्लामा पत्रकारिता क्षेत्रमा नौलो आयम खडा गर्छ भन्ने लागेको थियो तथापी त्यो सोचे जस्तो हुन सकेन ।’
सञ्चार क्षेत्रको विकाससँगै पारदर्शिकता, विकास निर्माणका कार्य समयमा नै सम्पन्न हुने लगायतका सकारात्मक कार्यहरु भएको र अनुगमनलगायतको क्षेत्रमाव्यापक सहयोग पुगेको भन्दै मेयर श्रेष्ठले सकारात्मक चर्चा गरे । पत्रकार महासंघको भवन नगरपालिककै सम्पती रहेको बताउँदै मेयर श्रेष्ठले भवन निर्माणलाई समयमै सम्पन्न गरी सुविधायूक्त बनाउनु आफूहरुको पनि दायित्व रहेको बताए ।
छलफलमा उपप्रमुख इच्छाकुमारी गुरुङले जनप्रतिनिधीहरुलाई सफल बनाउने र जनताका समस्या र गुनासाहरु मिडियामार्फत व्यापक रुपमाआउनु पर्नेमा जोड दिए । ‘हामी सबै ठाउँमा पुग्ने प्रयास गर्छौं तथापी कतिपय ठाउँमा नजर पुगेको हुँदैन । यस्तो अवस्थामा मिडियामार्फत जनताको कुरा हामीसम्म आउनु राम्रो कुरा हो । जनताको समस्या समाधानका लागि नै हामी अहोरात्रा खटिरहेका छौं । झनै क्रियाशिल मिडियाको सहयोग चाहिन्छ ।’
छलफलमा महासंघका तर्फबाट अध्यक्ष लाक्पाजी शेर्पाले जिल्लाको पत्रकारिताको अवस्था, दक्षता बृद्धि र स्थानीय सरकारको भूमिकाबारे धारण राखे । उपाध्यक्ष रविन श्रेष्ठले महासंघको तर्फबाट प्रस्तावपत्र पेश गर्दै दिगो समन्वयका लागि आग्रह गरे । अर्का उपाध्यक्ष विनुमाया राईले पत्रकारिताको विकासका लागि स्थानीय तहको भूमिका र सकारात्मक सोच जरुरी रहेको बताइन् ।