ओखलढुंगा । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा ओखलढुंगामा कांग्रेसलाई सफलता हात परेको छ । जिल्लाको कुल ३ सय ९१ पदमध्ये २ सय २२ पदमा कांग्रेस विजयी भएको छ ।
दोस्रो स्थानमा एमाले छ । एमालेबाट १ सय २२ जना जनप्रतिनिधि विजयी भएका छन् । यस्तै माओवादी केन्द्रबाट ३० जना, जनता समाजवादी पार्टीबाट १६ जना र १ जना स्वतन्त्रबाट विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार जिल्लामा ४ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तह उपप्रमुख कांग्रेसको पोल्टामा पुगेको छ । स्वतन्त्रबाट मानेभञ्ज्याङ गाउँपालिकाका कांग्रेस नेता ज्ञानेन्द्र रुम्दाली कांग्रेससँगकै गठबन्धनबाट प्रमुख पदमा विजयी भएका हुन् । स्वतन्त्र समेत जोड्दा ५ स्थानीय तहको प्रमुखमा कांग्रेस विजयी भएको मान्न सकिन्छ ।
यस्तै एमालेले १ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहमा उपप्रमुख, नेकपा माओवादी केन्द्रले १ स्थानीय तहमा प्रमुख र जनता समाजवादी पार्टीले १ स्थानीय तहमा प्रमुख पदमा विजयी भएका छन् ।
जिल्लामा कांग्रेस ४५ वडाको वडाध्यक्षमा पदमा विजयी भएको छ । नेकपा एमाले २० वडामा, माओवादी केन्द्र ८ वडामा र जनता समाजवादी पार्टी २ वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ओखलढुंगाको २०७४ सालको स्थानीय निर्वाचनमा ४ स्थानीय तहमा प्रमुख र र ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । एमालेले ३ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमै उपप्रमुख जितेको थियो । त्यस्तै माओवादी केन्द्रले एउटा स्थानीय तहमा प्रमुख जितेको थियो ।