ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई लक्षित गरेर पहिचान पक्षधरले आक्रमण गरेका छन् । ओखलढुंगा सदरमुकामबाट तलुवा जाँदै गर्दा मुख्यमन्त्री कार्की सवार गाडीमाथि उनीहरुले आक्रमण गरेका हुन् ।
कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदर्शनमा रहेका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झण्डा भाँचेर फालिदिएका छन् । उनीहरुले गाडी तोडफोड प्रयास समेत गरेका थिए ।
मुख्यमन्त्री कार्की सवार गाडी अन्य क्षति हुनबाट भने जोगिएको छ ।
मुख्यमन्त्री कार्की शनिवारदेखि ओखलढुंगामा हुनुहुन्थ्यो । कोशी प्रदेशका उर्जा, खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेयाङ्बोसहित ओखलढुंगामा आउनुभएका मुख्यमन्त्री कार्कीले ओखलढुंगामा प्रदेश सरकारबाट निर्माण हुने र निर्माण सम्पन्न भएका ८ वटा विकासका संरचना शिलान्यास, हस्तान्तरण तथा उद्घाटन गर्नुभएको छ ।
उहाँले रुम्जाटार लामा क्वाटर गुम्बा उद्घाटन गर्दै सबैको सहमतिमा पहिचानबाटै प्रदेशको नाम कोशी राखिएको र उक्त नाम संशोधन नहुने बताउनुभएको थियो । उहाँले संशोधन गर्नैपर्ने भए अर्को निर्वाचनमा बहुमत ल्याएर संशोधन गर्न आन्दोलनरत पक्षलाई चुनौती दिनुभएको थियो ।