ओखलढुंगा । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न ओखलढुंगाका राजनीतिक दल सहमत भएका छन् । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा दलहरु सहमत देखिएका हुन् ।
निर्वाचन सुरक्षा र मतपेटिका ढुवानीका विषयमा केन्द्रित बैठकमा आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन सम्पन्न गर्ने र कतै सानातिना समस्या आएमा समन्वयात्मक ढंगले समाधान गर्ने निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्य र प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले जिल्लामा निर्वाचन प्रचार प्रसार अभियान दलहरुले शान्तिपूर्ण ढंगले सम्पन्न गरेको र मौन अवधि र मतदानको दिन समेत शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । बैठकमा मतपेटिका ढुवानी योजना, मतपेटिका भण्डारणस्थल र गणनास्थलका बारेमा समेत छलफल भएको थियो । जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिइएको थियो ।