ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ को ठाडेमा कोइरे मुलाको स्तम्भ निर्माण गरिएको छ । ठाडे क्षेत्रमा उत्पादन हुने कोइरे मुलाको पहिचानका लागि स्तम्भ निर्माण गरिएको हो ।
स्तम्भ प्रदेश १ सरकारको पर्यटन तथा संस्कति मन्त्रालयको ५ लाख आर्थिक सहयोगमा निर्माण भएको निर्माण समितिका अध्यक्ष बुधमाया मगरले बताउनुभयो । डल्ले मुला, गान्टे मुलालगायतका नामले समेत चिनिने कोइरे मुला जिल्लाको समुन्द्री सतहभन्दा २ हजार मिटरमाथि उत्पादन हुने गर्छ । स्थानीय जातको यो मुला कोशेलीका रुपमा समेत जिल्लाबाहिर निर्यात हुने गर्छ । कोइरे मुला तरकारी खान र अचार बनाउन प्रख्यात छ ।
ठाडे बजारमा कोइरे मुलाको स्तम्भ निर्माण भए पनि स्तम्भ वरपरको पार्क निर्माणको काम भने वडा कार्यालयले गरिरहेको वडाध्यक्ष मेखबहादुर मगरले बताउनुभयो ।