ओखलढुंगा । ओखलढुंगाको पर्यटकीय क्षेत्र ठाडे-टोड्केमा पाइने विभिन्न प्रजातिका गुराँसको संरक्षण थालिएको छ । २ हजार ८ सय मिटर उचाइमा रहेका गुराँसका बोट फँडानी प्रतिबन्ध लगाएर संरक्षण थालिएको हो ।
दाउराका लागि गुराँसका बोट अत्यधिक कटानी हुन थालेपछि फँडानी प्रतिबन्ध गरिएको सिद्धिचरण नगरपालिका वडा नं ६ का वडाध्यक्ष मेखबहादुर मगरले बताउनुभयो । ओखलढुंगा-पत्ताले सडक खण्ड आसपासमा पर्ने निजी तथा सामुदायिक वन क्षेत्रमा रहेका गुराँसले हिमाल हेर्न आउने पर्यटकलाई लोभ्याउने र आयआर्जनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ । संरक्षणका कारण अहिले यस क्षेत्रमा गुराँसका पोथ्रा हुर्कन थालेका छन् । चैत वैशाखको सिजनमा सगरमाथासँगै यहाँका पाखा राताम्मे हुने गरेका छन् ।