ओखलढुंगा । बढ्दो सवारी दुर्घटना रोक्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ट्राफिक नियम पालनामा थप कडाई गरेर अगाडि बढ्ने भएको छ । ट्राफिक चेकिङलाई कडाई गर्ने, टाइमकार्ड लागु गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नदिनेलगाएतका विषयमा प्रहरी थप कडा हुने भएको हो ।
आज प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले ट्राफिक नियम पालना नगरी सवारी सञ्चालन गर्ने परिपाटीको अन्त्य गरेर दुर्घटना न्युनिकरण गर्ने ओखलढुंगा प्रहरीको योजना रहेको बताउनुभयो ।
उहाँले कोरोना आउनुभन्दा अगाडि सार्वजनिक सवारी साधनमा टाइमकार्ड लागु भएको भए पनि त्यसयता त्यो व्यवस्था हटेकाले लामो दूरीका सवारी साधनमा अनिवार्य रुपमा टाइमकार्डको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । जिल्लामा लुकिछिपी क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई समेत छड्के चेकिङ गरेर कारबाही गर्ने प्रहरीको योजना रहेको छ ।