ओखलढुंगा । आन्तरिक राजश्व कर कार्यालय लहानले ओखलढुंगाका उद्योगी व्यवसायीलाई करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । आर्थिक विधेयक २०७९ ले प्रदान गरेका छुटका सुविधाहरुका करदातालाई सुचित गराउन र आयकरमा दर्ता भएका करदाताका समस्या समाधानका लागि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको कार्यालयका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले बताउनुभयो ।
आयकरमा दर्ता भएका व्यवसायीले विवरण नहाल्ने समस्या देखिएको र विवरण नहाल्दा कर कार्यालयको शंकाको घेरामा व्यवसायी पर्ने भएकाले त्यसो नगर्न रिजालले अनुरोध गर्नुभयो । उहाँले वस्तु खरिदबिक्रीको आयविवरण भर्दा मिसम्याच हुने समस्या पनि बढ्दै गएकाले त्यस्तो मिसम्याचको समस्या समाधानका लागि कर कार्यालयले यही आर्थिक वर्षको चैतसम्म छुटको सुविधा दिएको पनि बताउनुभयो ।
सो कार्यक्रममा व्यवसायीहरुले कर शिक्षा नहुँदा भ्याटमा कारोबार गर्न समस्या भएको बताएका थिए । कार्यक्रममा ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले कागजी प्रणालीबाट कर तिरेका जिल्लाका व्यवसायीको विवरण विद्युतीय प्रणाली सुरु भएपछि इन्ट्री नहुँदा कर नतिरेको देखिएकाले त्यो समस्या समाधानका लागि कर कार्यालयसँग अनुरोध गर्नुभएको थियो । उहाँले नाकाबन्दी, कोरोना, आर्थिक मन्दी र बढ्दो ब्याजदरका कारण मारमा परेका व्यवसायीलाई राज्यले राहतका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।