ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ओखलढुंगामा आत्महत्या र यौनजन्य प्रकृतिका अपराध अस्वभाविक बढेको पाइएको छ । अपराध बढेसँगै जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा सक्रियता देखाएको छ ।
कार्यालयले जिल्लाका ८ वटै स्थानीय तहलाई सामाजिक अपराध नियन्त्रण कार्यमा थप सक्रियताका लागि अपिल गरेको छ । कार्यालयको तथ्यांक अनुसार गएको साउन देखि पुससम्म कर्तव्य ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, सवारी ज्यानमा ०, आत्महत्यामा ३२, आत्महत्या दुरुत्साहनमा ०, यौनजन्यमा २२, विवाहसम्बन्धीमा २, चोरीमा ०, अभद्र व्यवहारमा ४ र अन्यमा २ गरी ६७ अपराध भएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा कर्तव्य ज्यानमा ५, ज्यान मार्ने उद्योगमा ४, सवारी ज्यानमा २, आत्महत्यामा ५८, आत्महत्या दुरुत्साहनमा १, यौनजन्यमा २३, विवाहसम्बन्धीमा ६, चोरीमा ३, अभद्र व्यवहारमा १४ र अन्यमा ५ गरी १ सय २१ अपराध भएको थियो ।
शान्त, सभ्य र स्वस्थ समाज सिर्जना गर्ने कार्यका लागि प्रशासन कार्यालयले सबै सुरक्षा नियकाहरुले आआफ्नो कार्यक्षेत्र अनसार योजनाबद्ध एवं व्यवसायिक रुपमा विभिन्न कार्यहरु सम्पादन गरिरहेको जनाएको छ । सोही कार्य अन्तर्गत आत्महत्याका घटना दिनानुदिन बढ्दै गएपछि प्रशासन कार्यालयको संयोजकत्वमा प्रहरी कार्यालय, सिद्धिचरण नगरपालिका, सीएमसी नेपालका पदाधिकारीसहितको संयुक्त स्थलगत अध्ययन सर्वेक्षण समेत भएको थियो । सो सर्वेक्षण प्रतिवेदनले आगामी दिनमा आत्महत्याका घटनाहरु न्युनिकरणका लागि स्थानीय तहलगायतका विभिन्न निकायको भूमिका महत्वपूर्ण रहेको औँल्याएको थियो । प्रशासन कार्यालयले स्थानीय तहलाई प्रतिवेदनले औँल्याएका विभिन्न प्रबर्द्धनात्मक तथा निरोधात्मक क्रियाकलापलाई प्राथमिकतासाथ सम्पादन गर्न अनुरोध गरेको छ ।
यस्तै यौनजन्य अपराधहरुका सन्दर्भमा अधिकांश घटनाहरु परिवारभित्रबाट तथा नजिकका आफन्तहरुबाट समेत हुने र सामाजिक सञ्जालको दुरुपयोगका कारणले समेत घटने गरेको पाइएकाले सो सम्बन्धमा नागरिकहरुलाई सचेत तुल्याउने कार्य गर्न समेत अनुरोध गरेको छ । कार्यालयले आत्महत्या र यौनजन्य अपराधहरु विद्यालय अध्ययनरत विद्यार्थीहरुबाट समेत हुने गरेको सन्दर्भमा स्थानीय तह र विद्यालयबीच हुने विभिन्न कार्यक्रमहरु तथा विद्यालय अनुगमनका क्रममा यस्ता घटना न्युनिकरणका लागि अभिभावक तथा विद्यार्थी सचेतना कार्यक्रम सञ्चालनका लागि सहयोग, समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ ।