-सुजित बस्नेत
घरमा वस्दा दिक्क लागेर यसो कहिले काहीँ डाडातिर हावा खान निस्कँदा होस् वा कहिले चिया पसल तिर चिया पिउँदा होस वा कहिले सार्वजनिक यातायातमा हिंड्दै गर्दा होस् वा सामाजिक संजालमा किन नहोस्; पछिल्लो छ महिनामा एउटा शब्द धेरै पटक सुनेँ, त्यो शब्द हो 'प्रतिगमन' । भट्टिपसलमा पनि प्रतिगमन र अग्रगमनका कुरा भैरहेका थिए अनि चिया पसलमा विद्वानहरुका बिचमा पनि व्यापक चर्चा त पत्रपत्रिकामा पनि विश्लेषकहरुका विचमा पनि उत्तिकै । धेरै समय यस शब्दको अर्थ बुझ्ने प्रयास गरेँ तर सकिनँ । पाँच वटा अक्षरले बनेको नेपाली शब्द कस्तो प्रकृतीको हो र यसको खास अर्थ के हो भन्ने कौतुहल जाग्यो । एकदिन शब्दकोश पल्टाएर हेरेँ । खासै बुझ्ने गरि दिएको रहेनछ । अनि आफू त खुब गुरुले भनेको कुरामा विश्वास लाग्ने भएकोले मैले मेरो आदरणीय गुरुलाइ फोन गरेर प्रतिगमन शब्दको अर्थ सोधे । उहाँले पछाडि पट्टी जानू, फर्किनु, उल्टो बाटो हिँड्नु हो भन्नुभयो । त्यति भनेपछी उहाँलाई धन्यवाद दिएर फोन राखे ।
अलिकति आफू राजनीति बुझ्न चाहने भएकोले होला म रेडियोमा प्रत्येक दिन विहान नेपाली बहस सुन्ने गर्दथे । वरिष्ठ पत्रकार ऋषि धमलाको त्यो चर्को प्रश्न सोध्ने शैली, कहिले कुन पार्टीको नेता बहस गर्ने कहिले कुन पार्टीको! सुन्नमै मज्जा आउने ऋषिको त्यो कार्यक्रम । एकदिन ऋषि धमला संग नेपाली काङ्ग्रेसका नेता गगन थापाको बहस रहेछ सुन्दै थिए , उहाँ भन्दै हुनुहुन्थ्यो "प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो,अहिले सरकार बन्ने विकल्प हुँदाहुँदै पनि उहाँले प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको दिशामा , लोकतन्त्र मास्ने दिशामा जानुभयो" भन्दै हुनुहुन्थ्यो । त्यस्तै त्यही दिन एक शालिन नेता प्रदीप ज्ञावलि संग पनि अन्तर्वार्ता हुँदै रहेछ म सुन्दै थिए उहाँ भन्दै हुनुहुन्थ्यो " निर्वाचन गरेर जनताको ताजा जनादेश लिएर अघि बढ्ने कुरा कसरी प्रतिगमन हुन्छ यो अग्रगमन हो । ताजा जनादेशले नयाँ जोश, जागर, सहित मुलुकलाई भुमरिबाट उकास्छ" । दुवै आफुलाइ औधी मनपर्ने नेता थिए । पहिला गगन थापाको कुरा सुन्दा त्यही हो जस्तो लाग्ने पछि प्रदीप ज्ञावलि का कुरा सुन्दा त्यो पनि हो जस्तो लाग्ने । हो कहिले काहीं एउटै शब्द फरक प्रसङ्गमा प्रयोग भएमा अर्थ पनि फरक हुन्थ्यो तर यहाँ प्रसङ्ग पनि एउटै रहेको छ।
प्रश्न मेरो मनमा उब्जि रहयो। विभिन्न सभा र सम्मेलनमा यो कुरा त चलिनै रहेको थियो झन अन्यौल सिर्जना हुँदै थियो। त्यहीँ समयमा छिमेकी गाउँमा आ-आफ्नो घर नजिक बाटो पुर्याउने कुरा भैरहेको रहेछ। एउटाले त्यहाँ अर्काको घरछेउमा बाटो गए प्रतिगमन हुने भनेर पाखुरी सुर्किदै थियो अर्को पनि के कम तेरो घर छेउमा गए झन प्रतिगमन हुन्छ भनेर उफ्रिदै थिए। सायद त्यो शब्द नै भाइरल भएको बेला परेर होला जताततै प्रतिगमन गुन्जिरहेको थियो। नेपाली भाषा बिज्ञहरुले लगाएको अर्थ नेपाली राजनितिले भने गलत देखाइरहेको छ। पछिल्लो समय त प्रतिगमन शब्द र ताक परे तिवारी नत्र गोतामे भन्ने एउटा पुरानो उखान दुवैको अर्थ एक हो कि जस्तो पो लागिरहेको छ। आफू अनुकुल , आफुले भनेको या भनौं आफ्नो पक्षमा हुँदा आहा अग्रगमन हुने र आफ्नो विपक्षमा हुँदा प्रतिगमन हुने! राजनीति भनेको देश र जनताको हितमा कार्य गर्ने, राज्य चलाउने नीति हो भन्ने सुनेको थिए। तर यहाँ राजनितिले त नेपाली शब्दहरुको अर्थ नै फरक पारिराखेको छ। आफ्नो जिम्मेवारी आफ्नो काम नगरेर नेपाली भाषा बिज्ञहरुको काम खोसिदिनुपनी नेपाली राजनीतिज्ञ हरुको अर्को प्रतिगमन हो। तसर्थ प्रतिगमन यहाँ , त्यहाँ र जहाँ पनि भैरहेछ किनभने यो असत्य लाई प्रोत्साहन गर्ने समय अर्थात समय नै प्रतिगमनको हो ।
सुनकोशी- ८ ओखलढुंगा