ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर सम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण शिविर आजबाट सुरु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा शिविर सुरु भएको शिविर भोलिसम्म चल्नेछ ।
शिविरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले शिविरको व्यानर पढेर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै खनालले महिलाहरुको स्वास्थ्य समस्या भयावह हुन नदिन र रोगहरुको उचित उपचारका लागि शिविर राखिएको बताउनुभयो ।
शिविर खनालकै पहलमा आयोजना भएको हो । जसमा नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौँले प्राविधिक सहयोग गरिरहेको छ ।
शिविरमा विहानैदेखि भीड लागेको छ । ३ सय जनाको प्याब स्मेयर टेस्ट लिने योजना बनाइएको शिविरमा महिलाहरुको संख्या उल्लेख्य भएपछि भीआइए टेस्ट गरेर सबैलाई सेवा दिन थालिएको छ । एपीएफ अस्पतालले एकमहिनाभित्र काठमाडौँ आएमा ओखलढुंगामा शिविरमा सहभागीलाई नि:शुल्क प्याब स्मेयर टेस्ट गरिदिने बताएको छ ।
सिविरमा प्राविधिक सहयोग गरिरहेको अस्पतालले परीक्षणपछि पहिचान भएका पीडित महिलाहरुलाई सित्तैँमा शल्यक्रिया गरिदिने समेत घोषणा गरेको छ ।