ओखलढुंगा । पहाडको अग्लो पहराबीचबाट झरिरहेको एउटा झरना । जो हेर्दा अत्यन्तै आकर्षक छ । देशकै प्रमुख झरनामध्येको एक पनि हो । तर ओझेलमा छ ।
कुरा हो रातमाटे झरनाको । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ स्थित मझुवामा रहेको १ सय ११ मिटर अग्लो रातमाटे झरना अहिलेसम्म ओझेलमा छ । झरना आसपास पर्यटकीय विकास नहुँदा प्रचारमा आउन सकेको छैन ।
ओखलढुंगा सदरमुकामबाट सानीटार, डाँडागाउँ, नवलपुर हुँदै रातमाटे झरना पुग्ने सडक सुधार हुँदै छ । वर्षामा यो सडक मुश्किलले चल्ने गर्छ । सडक झरनाको मुखैसम्म पुगिसकेको छ ।
स्थानीय जनक गिरीका अनुसार सडक र पर्यटकीय पूर्वाधारकै कारण पर्यटक झरनासम्म आउन मुश्किल छ । हिउँदमा सडक सुधार त हुन्छ तर झरनाको पानी घट्तै जाँदा सौन्दर्य पनि घट्दै जान्छ ।
यो झरना आसपास सुनझाँक्री बस्ने स्थानीयको विश्वास छ । झरना क्षेत्रमा आवतजावत र फोहोरमैला गरे सुनझाँक्री रिसाउने स्थानीय मान्यताले यो झरना प्रचारमा आउन सकेन । मझुवाको पहाडबाट झरिरहेको झरनाले जो कोहीको मन लोभ्याउँछ । यहाँको पहाडी भूगोल पनि उस्तै सुन्दर छ । तर सडकभन्दा करिब ३ सय मिटर माथि रहेको झरना क्षेत्रमा पुग्ने गोरेटो बाटो र अवलोकनस्थल समेत छैन ।
ओखलढुंगा सदरमुकामबाट २ घण्टाको सवारी यात्रापछि पुगिने रातमाटे झरनाको पर्यटकीय पूर्वाधार विकासमा स्थानीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।