ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ को स्रष्टापार्कमा ४ करोड २० लाख खर्चेर पर्यटकीय संरचना निर्माण भइरहेको छ । स्रष्टापार्कमा २५ फिट अग्लो शिवको मुर्ती, चिल्ड्रेन पार्क, फाउन्टेन फुट ट्रयाक, गुम्बालगायतका संरचना निर्माण भइरहेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको लागत साझेदारीमा सिद्धिचरण नगरपालिकामार्फत् एक वर्ष अघि नै काम अगाडि बढेको थियो । २०७८ असोजबाट सुरु भएको काम श्याम सुन्दर/नेपाल फूलबारी जेभीले ठेक्कामार्फत् गरिरहेको छ । यही माघमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि जग्गा विवादलगायतका कारण काममा ढिलाइ भएको सिद्धिचरण नगरपालिका पूर्वाधार विकाश शाखा इन्जिनियर रमेश ब्लोन तामाङले बताउनुभयो ।
उक्त संरचना निर्माण सम्पन्न भएपछि पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ ।