ओखलढुंगा । यही वैशाख ५ र ६ गते ओखलढुंगाको पोकलीमा आयोजना हुने सुनुवार सांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको छ । ओखलढुंगा र रामेछाप जिल्लाको सीमावर्ती लिखु नदी आसपासमा रहेका अल्पसंख्यक सुनुवार जातिको भाषा, संस्कृति, लिपि, रितिरिवाज तथा ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने भएको हो ।
सुनुवार सेवा समाज पोकली र पोकली झरना सेवा समाज ओखलढुंगा-काठमाडौँ सम्पर्क मञ्चले संयुक्तरुपमा महोत्सवको तयारी गरिरहेको छ । महोत्सवमा विभिन्न झाँकी तथा दर्जनौँ नृत्यहरुको प्रदर्शनी, खानाका विभिन्न परिकार र मनोरञ्जन कार्यक्रम राखिएको महोत्सव आर्थिक तथा प्रचारप्रसार समितिका संयोजक पशुपति सुनुवारले जानकारी दिनुभयो ।
ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ९ को पोकलीस्थित चण्डीथानमा आयोजना गरिने महोत्सवसँगै नेपालकै दोस्रो अग्लो पोकली झरनाको प्रबर्द्धन समेत गरिने आयोजकले जनाएका छन् ।