ओखलढुंगा । ओखलढुंगाका बाख्रा र तरकारी उत्पादक किसान समूहलाई उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ३५ हप्ते तालिम दिइरहेको छ । जिल्लामा रहेका १९ वटा समूहमा आबद्ध सदस्यहरुलाई समूहमै प्रशिक्षक उत्पादन गरेर समृद्धिले वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम दिन थालेको हो ।
किसान समूहका सदस्यहरुले हप्ताको एक पटक समूहमै तालिम लिन पाउने व्यवस्था समृद्धि आयोजनाले गरेको छ । तालिममा व्यवसाय दर्ता, व्यवसायको हिसाब किताब, नाफा नोक्सानको हिसाब किताब, आपूर्ति श्रृंखला, व्यवसायिक खेती, व्यवसायको सम्भाव्यता अध्ययन, व्यवसायिक योजना, बजारमुखी उत्पादन तथा बजार र बजारीकरणका विषयमा समूहमै किसानहरुलाई सिकाउने गरिएको छ ।
यसका अलवा तालिममा प्राविधिक कक्षाको समेत व्यवस्था गरिएको छ । किसानहरुलाई व्यवसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम पाएपछि अहिले यहाँका किसानहरुले बाख्रा र तरकारीको उत्पादन बढाउँदै गएका छन् ।