ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रभित्र आयोजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरु बीच समन्वय बैठक सम्पन्न गरेको छ । समृद्ध सिद्धिचरण नगरपालिका निर्माण गर्ने उद्देश्य अनुरुप नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले समन्वय बैठक गर्नुभएको हो ।
बैठकमा सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले आर्थिक वर्ष ०७९/८० मा नगरपालिका क्षेत्रभित्र सञ्चालन गर्ने कार्यक्रम तथा बजेटहरुको विवरण प्रस्तुत गरेका थिए । उक्त बैठकमा मेयर खनालले सिद्धिचरण नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि नगरपालिका क्षेत्रभित्र आयोजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने सरकारी कार्यालय तथा संघ संस्था र नगरपालिका बीच आपसी सहयोग र समन्वय हुनु पर्ने बताउनुभएको थियो ।

नगरक्षेत्रमा गरिने कार्यक्रमहरुको सन्दर्भमा आउने दिनहरुमा समेत निरन्तर छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु गरिने प्रतिबद्धता समेत मेयर खनालले गर्नुभएको थियो ।
बैठकमा उपप्रमुख केदारबाबु बस्नेत र प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले पनि आफ्ना भनाई राख्नु भएको थियो ।
बैठकमा नगरपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।



