ओखलढुंगा । जिल्ला सदरमुकामको रमाइलोडाँडामा निर्माण सम्पन्न भएको बसपार्क चैत १० गतेदेखि सञ्चालनमा आउने भएको छ । सिद्धिचरण नगरपालिकाले बसपार्क सञ्चालन गर्नका लागि आज समन्वय बैठक राखेर बसपार्क सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
बसपार्क सञ्चालनका लागि नगरप्रमुख तेजन खनालले आयोजना गरेको बैठकमा नगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी नायब उपरीक्षक, सिद्धिचरण नगरपालिका वडा नं. ११ र १२ का वडा अध्यक्षहरु, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, बस ब्यवसायी संघका प्रमुख एंव प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो । उक्त बैठकबाट बसपार्क सञ्चालनका लागि सहमति जुटेको छ ।
सिद्धिचरण राजमार्गको मुख्य सडकमै सवारी साधनहरु दायाँ बायाँ लामो समयसम्म पार्किङ गर्दा सडक जाम हुने, पैदल यात्रुहरुलाई हिँड्डुल गर्न कठिनाई हुनेलगायतका समस्या थिए । ती समस्या समाधानका लागि बसपार्क दशकौँ लगाएर व्यवस्थित बसपार्क निर्माण गरिएको हो ।