ओखलढुंगा । ओखलढुंगाका स्थानीय हाटहरुमा परालबाट बुनिएका गुन्द्री बिक्न छाडेका छन् । प्लाष्टिकका गुन्द्रीको प्रभावका कारण परम्परागत गुन्द्री लोप हुने अवस्थामा पुगेको छ ।
यहाँका स्थानीय हाटहरुमा परालको एउटा गुन्द्रीलाई ५ सय रुपैयाँ पर्ने गर्छ । तर पछिल्ला वर्षहरुमा यस्ता गुन्द्री बुन्ने परम्परा समेत हराउँदै गएको छ । गुन्द्री बिक्री गर्न समस्या हुन थालेपछि बुन्न समेत छाडिएको मोलुङ गाउँपालिका २ की स्थानीय विमला दाहालले बताउनुभयो ।
खाट तथा भूइँमा ओछ्याउन प्रयोग गरिने गुन्द्री स्थानीय हाटहरुमा बिक्रीमा समेत समस्या हुन थालेको स्थानीय बताउँछन् । मंसिरमा धानको पराल निस्किएपछि आँगनमा तान हालेर गुन्द्री बुन्ने चलन अहिले विरलै देखिने गरेको छ ।