ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकामा गाउँपालिका प्रमुख र कर्मचारीबीचको बैठक सम्पन्न भएको छ । बैठकले वडाहरुमा सचिवको दरवन्दी रिक्त भएकाले पदपूर्ति नभएसम्म प्राविधिक कर्मचारीलाई नै थप जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुशिला तामाङको उपस्थितीमा भएको बैठकले कर्मचारीहरुको पोशाक अनिवार्य गर्ने, वडा सचिवहरुले वडामा संकलन गरेको कर तथा दस्तुरहरु मासिक रुपमा गाउँपालिकामा बुझाउने, चौमासिक प्रतिवेदन नियमित रुपमा पेश गर्नुपर्ने लगायतको निर्णय भएको अध्यक्ष शेर्पाका सचिवालय सदस्य ल्हमु शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, कर्मचारीहरुको मासिक बैठक महिनाको अन्तिम शुक्रबार बस्ने, शाखा प्रमुखसँग प्रशासकीय अधिकृतले कार्य सम्पादन सम्झौता गर्ने, कर्मचारीहरु १०:३० सम्म पनि कार्यालयमा उपस्थित नभएमा कार्बाही गर्ने समेत निर्णय भएको छ ।
त्यस्तै, सुशासन, पारदर्शिता र छिटो छरितो रुपमा सेवाग्राहीहरुलाई सेवा दिन समेत अध्यक्ष शेर्पाले बैठकमा कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । बैठक प्रशासकीय अधिकृत डम्बर बहादुर मगरले सञ्चालन गर्नुभएको थियो ।