ओखलढुंगा । पशु चौपाया चराउन प्रयोग गरिएका पुराना खर्क मासिँदै गएपछि ओखलढुंगामा भेडा तथा चौरीपालन गर्ने चलन लोप हुँदै गएको छ । खर्क मासिएर चरण क्षेत्र अभाव भएसँगै यस्तो चलन हराउने अवस्थामा पुगेको हो ।
पुराना खर्कमा अहिले सामुदायिक वनले पशु चौपाया चरणमा रोक लगाएपछि चरण अभाव हुन थालेको भेडा व्यवसायी सन्तोष गुरुङले बताउनुभयो । जिल्लामा रुम्जाटार र रावादोलुका गुरुङ समुदायले खर्क राखेर भेडापालन व्यवसाय गर्दै आएका छन् । भेडीगोठ गर्मीयाममा सोलुखुम्बु र जाडोयाममा उदयपुरमा लैजाने गरिएको छ । भेडा चरणका लागि एउटा सिजनमा प्रयोग गरिने खर्कको ५० हजारसम्म तिर्नुपर्ने बाध्यता आउन थालेपछि अहिले जिल्लामा भेडीगोठ घटेर आधादर्जनभन्दा कममा झरेको छ ।
यस्तै जिल्लाको खिजीदेम्बा गाउँपालिकाको देम्बाडाँडा आसपासमा खर्क राखेर गरिने चौरीपालन व्यवसाय पनि खस्कँदै गएको छ । खर्कको समस्या हुन थालेपछि चौरीपालक किसान पनि घट्न थालेका छन् ।