भान्छामा गुजुज्ज
उम्लिएको भात
कचल्टिएको ग्याँस सकिएर
कहिले,
बल्ल थाहा पाउँछु
डढेर गन्हाएपछि
गृहकार्य छोराछोरीको
सकाउन विर्सेको छु
तिमीसँगै भूलेर ।
रोजै झगडा पर्न थालेको छ
श्रीमान्सँग पनि
ऊ, पनि
कम्तिको कहाँ हो र !
बोलिरहन्छ, केटीसँग
यस्तै यस्तै आशंका
उसले पनि गर्न थालेको छ ।
यसैले,
सिमित हुँदै गएको छ
हाम्रो बोलचाल पनि
तिमीलाई कहिलेकाँही
चटक्कै छोडूँ, लाग्छ
के कसो गरो, छोड्नै सकिन्न
याद आइहाल्छ, एकछिन पछि
रिसाएर शान्त भइसकेपछि,
गाली मलाई गरिसकेपछि
उनी पनि त,
तिमीसँगै आउँछन् ।
तिमीले नै हो,
अं साँच्ची, हाम्रो भेट गराएको
मन्दिरमा भाकेर
कृतज्ञ सम्झेर, तिमिलाई ।
यसरी नै,
लुकामारि चलिरहन्छ,
दिनै ठास्स ठूस्स परिरहन्छ
प्रिय, फेसबुक
तिमी आएपछि ।।