ओखलढुंगा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेशस्तरीय विभिन्न खेलमा भाग लिने ओखलढुंगाका खेलाडीसहितको टोलीलाई सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले विदाई गर्नुभएको छ । आउँदो भदौ २९ गतेदेखि सञ्चालन हुने उक्त खेलमा भाग लिने टोलीलाई आज एक कार्यक्रमका बीच खादा र अविर लगाएर विदाई गरिएको हो ।
उक्त खेलमा ओखलढुंगाबाट २ सय २४ जना खेलाडी, २२ जना प्रशिक्षार्थी प्रशिक्षक र २३ जना व्यवस्थापक गरी २ सय ६९ जना सहभागी हुँदैछन् । सो अवसरमा मेयर खनालले सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना दिनुभयो । उहाँले अनुशासित भएर खेलमा विजय हाँसिल गरेर जिल्लाको नाम चिनाउन खेलाडीहरुलाई अनुरोध गर्नुभयो ।
विदाई कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रवीण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।