ओखलढुंगा । नेवारी समुदायको जात्रा निकाल्ने क्रममा ओखलढुंगा सदरमुकामका दुई गुठीबीच बढेको विवाद २ दशकपछि अन्त्य भएको छ । विवाद अन्त्य भएसँगै यहाँका दुवै गुठीले संयुक्त रुपमा जात्रा निकालेका छन् ।
सिद्धिचरण नगरपालिका १२ को जनहित गुठी र सिद्धिचरण ११ को पारस्पारिक गुठीले २ दशकअघिदेखिको आन्तरिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । दुवै गुठीले अहिले संयुक्त रुपमा लाखेजात्रा निकालेका छन् । यसअघि सदरमुकाममा वल्लो बजार र पल्लो बजार क्षेत्र छुट्याएर छुट्टाछुट्टै जात्रा निकालिँदै आएको थियो । एक वर्ष अघिबाट संयुक्त जात्रा निकाल्ने योजना अहिले आएर सार्थक भएको जनहित गुठीका अध्यक्ष ध्रुव राजभण्डारीको भनाइ छ ।
संयुक्त रुपमा जात्रा निकाल्न थालिएपछि जिल्ला सदरमुकाममा लाखेजात्राको रौनकता बढेको छ । श्रावण कृष्ण चतुर्दशीदेखि भाद्र कृष्ण अष्ठमीसम्म हिलेजात्राका रुपमा मनाइने यो जात्रा हेर्न दर्शकको घुइँचो लाग्ने गरेको छ । राक्षसरुपि मुकुण्डो लगाएर ढोलक, झ्याम्टा, हार्मोनियम, मादललगायतका बाजाहरुको तालमा निकालिने लाखेजात्रा दर्शकमाझ लोकप्रिय छ । नेवारी समुदायको संस्कृति र परम्परा जोगाउन अहिले युवाहरु एकजुट देखिएको पारस्परिक गुठीका अध्यक्ष जनककुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लाका नेवारी समुदायले हिलेजात्राका रुपमा लाखेजात्रा, गाईजात्रा, रोपाइँजात्रालगायतका जात्रा निकाल्दै आएका छन् । यहाँका नेवारी समुदाय आफ्नो संस्कृति जगेर्ना गर्न एकजुट हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।