ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा रहेको बौद्ध गुम्बामा टिकटक बनाउन प्रतिबन्ध गरिएको छ । अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले विगत ३ महिनादेखि गुम्बामा टिकटक प्रतिबन्ध गरिएको हो ।
धार्मिक आस्थामा चोट पुग्ने खालका भिडियो टिकटकमा सार्वजनिक हुन थालेपछि असभ्य ढंगबाट टिकटक भिडियो बनाउन रोक लगाइएको रुम्जाटार गुम्बा व्यवस्थापन उपसमिति सचिव कुन्दन गुरुङले जानकारी दिनुभयो । यद्धपि गुम्बा भ्रमणमा आइपुग्ने पर्यटकहरुलाई सभ्य ढंगबाट तस्बिर र भिडियो खिच्न भने प्रतिबन्ध नगरिएको गुरुङको भनाई छ ।
११ फिट अग्लो भगवान् बुद्धको मुर्ति, धार्मिक तथा ऐतिहासिक महत्वका सामग्री र ऐतिहासिक दस्तावेज राखिएको रुम्जाटार गुम्बा पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँको गुम्बामा हरेक दिन तालिम पूजा, शील प्रार्थना, ध्यान प्रार्थना, धर्मपाला पूजा र सन्ध्याकालीन ध्यान साधना हुने गरेको छ । गुम्बामा २ जना लामा गुरु र ८ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।