ओखलढुंगा, असोज २४ । ओखलढुंगा-रामपुर-लप्सेखोला सडकमा डीबीएसटी कालोपत्रे गर्न थालिएको छ । हाल ओखलढुंगा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम सुरु गरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भुकम्प आपतकालीन सहायता आयोजना अन्तर्गत निर्माण भइरहेको सो सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । २३ दशमलब ६२ किलोमिटर लामो सडकमा ७ दशमलब ६२ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने प्राबिधिक स्टीमेट रहेको छ ।
२०७५ असार २७ मा भ्याटसहित २९ करोड ९९ लाख ६० हजार १ सय ३ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै कालोपत्रेको काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।
पछिल्लो समयमा भने लकडाउन र भारी वर्षाका कारण काम प्रभावति भएको थियो । अहिले सो सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनयर सरोज केसीले बताए ।
हाल दसैँअघि नै सो सडकको ४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरिएको इन्जिनियर केसीको भनाई छ । तयारी गरिएको क्षेत्रमा ग्राभेल बिछ्याउने र बेस कोर्ष तयारी गर्ने काम भएको उनले बताए ।
सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा आउन केही दिन मात्रै बाँकी छ । असोज २९ गते यसको समयसीमा सकिँदै छ । सडक निर्माणको समयसीमा थप गर्नका लागि पहल भइरहेको कार्यालयको भनाई छ ।
आउँदो मंसिरसम्म सडक निर्माणको काम नसकिए पुस माघमा चीसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्रावधिकहरु बताउँछन् । 'काम द्रूत गतिमा गराउनका लागि हामी तयारी छौँ,' इन्जिनियर केसी भन्छन्, 'तर दसैँ तिहारका कारण अत्यधिक गाडीहरु आवतजावत गर्ने भएकाले काम गर्न समस्या देखिएको छ ।'