ओखलढुंगा । ओखलढुंगाका १७ हजार बढी घरधुरीमा केन्द्रीय विद्युत प्रशारण लाइन जोडिएको छ । जिल्लाका ५५ प्रतिशत घरधुरीमा विद्युत लाइन विस्तार भएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । जिल्लाका सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकामा करिब ९० प्रतिशत् विद्धयुतीकरणको काम सम्पन्न भएको छ ।
८ वटा स्थानीय तहमध्ये खिजीदेम्बा गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको काम भइरहे पनि हालसम्म बत्ती बलेको छैन । चम्पादेवी गाउँपालिकाको पलापु र रानीवन गाउँमा हालै बत्ती बल्न थालेको छ । अन्य गाउँपालिकाका भूगोलमा आंशिक रुपमा भए पनि प्रशारण लाइन विस्तार भएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख प्रतीश ढकालले जानकारी दिनुभयो ।
विद्युत विस्तार भएपछि जिल्लाको ग्रामीण जनजीवन सहज बन्दै गएको छ । विद्युतीकरण हुन बाँकी गाउँमा पनि प्रशारण लाइन विस्तारका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ ।