ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माणमा ढिलाइ हुँदा स्थानीले सास्ती खेप्दै आएका छन् । पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले एउटा पिलरको जग उठाउने काम बाहेक केही गरेको छैन ।
पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले लिएको ठेक्काको समयसीमा आउँदो कात्तिकमा सकिँदैछ । वर्षालगायतका विभिन्न बहाना बनाएर ठेकेदार कम्पनीले काममा आलटाल गर्दा बेलाबेला खोलाले यातायात अबरुद्ध गर्दै आएको छ । पक्की पुल समयमै बन्ने छाँटकाँट नहुँदा पोक्तिङ खोलाको जीर्ण झोलुंगे पुलबाट स्थानीय आवतजावत गर्ने बाध्य छन् ।